राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ ।
नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो डोजर चलाएको छ ।
घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए ।
‘अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज डोजर लगाउन बाध्य भएका छौँ’, उनले भने, ‘अतिक्रमण हटाएर सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ ।”
नेपालगञ्ज उपमहानगरपालिका–९ का विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गा तारबार गरी संरक्षण गर्दै आएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।
यसअघि नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किएका थिए ।
नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफैँ अगाडि सरेका हुन् ।
सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताए।
नेपालगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उनको भनाइ छ । सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उनले बताए ।
बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगरप्रमुख विष्टको भनाइ छ ।