न्यूरोडमा बालेनले जे गरेका थिए, ठीक गरेका थिएः विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले जोसँग पनि र जहाँ पनि जोरी खोजेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले ओलीले कसैलाई बैगुनी कान्छा र कसैलाई निष्ठुरी साइँला भनेर अपमान गरेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भिड्न केपी ओलीनै मैदानमा उत्रिनु स्वभनीय नदेखिएको पनि टिप्पणी गरे ।

‘हामी जहाँ पनि जोसँग पनि जोरी खोज्न मैदानमा उत्रिन हुँदैन । कसैलाई निष्ठुरी साइँला भन्दिएको छ । कसैलाई बैगुनी कान्छा भन्दिएको छ । यो ढंगको अभिव्यक्तिले सम्मानीय पूर्व प्रधानमन्त्रीलाई शोभा दिँदैन । काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भने हुन्छ नि ? त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरुलाई भन्दा हुन्छ नि । तिनले त्यही भने भइगयो नि मेयरसाब संयमले बोल्नुस्, जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् या तपाईँको शैली बदल्नुस्,’– उनले भने ।


साथै, न्यूरोडमा काठमाडौं महानगरले गरिरहेको काममा संघीय सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए । महामन्त्री शर्माले संघ र स्थानीय तहबीचको द्वन्द्वमा संघीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताए । न्यूरोडमा बालेनले गर्न लगाएको काम जायज रहेको दाबी गर्दै उनले सो काम पुनः गर्न दिइनुपर्ने बताए ।

‘यो प्रकरणमा म यतिमात्रै भन्न चाहन्छु संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए, ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुरातर्फ फिर्ता हुनुपर्छ,’– उनले भने ।