एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छ: उपाध्यक्ष पौडेल



लुम्बिनी। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन्।

नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताएका हुन्। ‘संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यही हो जिम्मेवारी पनि यही हो’, उनले भने, ‘एमालेले नेतृत्व गर्न नपाएका कारण मुलुकपछि परेको छ।’


पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जरुरी रहेको बताए। उनले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए।

विभेद र असमानता अन्त्य गरी समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोहीअनुसार भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गरे। संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एमाले जनताको रोजाइको पार्टी भएको बताए। उनले दुई वर्ष पाँच महिनामा पार्टीको संगठनलाई मजबुत र सशक्त बनाइएको स्पष्ट पारे।

अधिवेशन व्यवस्थित गर्न पार्टीको जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा एक सय ६७ सदस्यीय मूल व्यवस्थापन कमिटी चयन भएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए। जिल्लाका १६ वटा पालिका र एक सय ५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीका गरी आठ सय ५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्। अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र एक सय ४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ।