‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्‍चालन गर्ने’



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्ने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको ‘लागूऔषध नियन्त्रण तथा शान्ति सुरक्षा’ सम्बन्धी अन्तरक्रियामा उनले ठमेल र दरबारमार्गको सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने बताएका हुन् । ‘नयाँबसपार्क देशभरका यात्रु आवतजावत गर्ने थलो हो, यहाँको शान्ति सुरक्षालाई काठमाडौँ प्रहरीले पहिलो प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइ लागू गरेको छ,’ उनले भने ।


प्रमुख रजौरेले सानै उमेरदेखि आफ्ना बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताए । उनले व्यवसायीले दुःख गरेर कमाएको पैसाप्रति गिद्धे नजर लगाउने प्रहरीलाई कारबाही गर्ने स्पष्ट पारे । समुदायको साथविना प्रहरीले काम गर्न नसक्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सबै व्यक्ति इमान्दार भएर अगाडि बढे नयाँबसपार्क क्षेत्रभित्र देखिएको समस्या समाधान हुने बताए । जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्कीले लागूऔषध नियन्त्रणका लागि परिवारबाटै अभियान सञ्चालन गर्न जरुरी रहेको बताए । मित्रनगर विकास तथा टोल सुधार समितिकी अध्यक्ष गङ्गा पन्तले सबैको हातेमालोबाट मात्र नयाँ बसपार्क क्षेत्रको समस्या समाधान हुने भएकाले एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउँदै यहाँ भित्रका विकृति विसङ्गतिको अन्त्यका लागि प्रहरीलाई स्थानीयवासीले साथ  दिन आग्रह गरे । अन्तरक्रियामा विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी तथा विद्यालयका विद्यार्थीले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।