लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन : पूर्वराष्ट्रपति डा यादव



काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् ।

गणतन्त्र दिवस, २०८१ का अवसरमा राससद्वारा आयोजित तस्वीर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति डा. यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए । जनताको आन्दोलनको उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रूपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्ण रूपमा काम गर्नुपर्नेमा जोड दिए । 


गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले भौतिक विकाससँगै नवीनतम् प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए ।

उनले भने, ‘गणतन्त्रपछि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विस्तार भएको छ । तर, पनि गुणस्तरीय शिक्षामा भने हामीले जोड दिनुपर्नेछ । जनप्रतिनिधिको ध्यान त्यसमा हुनुपर्छ ।’ राजनीतिक व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले द्वन्द्व भएको मुलुकमा आर्थिक व्यवस्था राम्रो भएन भने पुनरावृत्ति हुनसक्ने पाटोमा ध्यान पुर्याउनुपर्छ भने । 

जुन देशमा शिक्षाको विकास हुन्छ त्यो देश अरू क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले राजनीतिक, आर्थिक र सामाजिक विकासले लोकतन्त्रको गतिलाई निर्धारण गर्ने बताए । उनले भने, ‘विगतमा द्वन्द्व भयो, दलको सहमतिमा संविधान बनाउने काम भयो,  संविधान जारी गर्ने क्रममा केही असन्तुष्टि व्यक्त भए, पछि आएर सबैले संविधान मान्दै आफ्ना कुरा उठाइरहेका छन् । यो नै लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हो ।’

लोकतन्त्रको जहाज जस्तो चुनौतीका बाबजुद पनि परिपक्व ढङ्गले अघि बढिरहेको भन्दै पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक व्यवस्थामा हतारमा काम र छिटो परिणाम प्राप्त नहुने भएकाले राजनीतिक दलको दूरदर्शिताको खाँचो औँल्याए ।

ठूलो बलिदानीबाट महत्वपूर्ण उपलब्धिका रूपमा लोकतन्त्र आएकाले लोकतन्त्र फलाउने र फुलाउने काममा सहभागी हुन पूर्वराष्ट्रपति डा. यादवले सबै तह र तप्काका नागरिकलाई आह्वान गरे ।