कञ्चनपुर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि १५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका संरक्षण सञ्जालले सञ्चालन गरेको तालिममा उनको धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न सिकाइने सञ्जालका अध्यक्ष मधु बोहराले जानकारी दिए ।
तालिमको शुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएकाले त्यसबाट बढिभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गरे । उनले नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीतिअनुसार पालिकाले तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्तले गृहिणीहरूले अब चुलोचौको र मेलापातमा अल्झिन नहुने बताइन् । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जनमा लाग्न आग्रह गरिन् ।
‘अहिले पनि सामान्य आवश्यकता पूर्तिका लागि पुरुष वा श्रीमानकै भर पर्नु राम्रो होइन । घरमै बसेर पनि केही गर्न सकिन्छ । त्यसैले तपाईंहरूलाई केही सहयोग पुगोस् भनेर तालिम आयोजना गरिएका हो, यसबाट दत्तचित्त भएर सीप सिक्नुहोला । व्यवसाय सुरू गर्न पनि हामीले सहयोग गर्नेछौँ,’ उपप्रमुख पन्तले भनिन् ।
तालिममा नगरपालिकाका १२ वडाको प्रतिनिधित्व हुनेगरी १२ जना महिलाको सहभागिता रहेको छ ।