मोरङ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन् ।
मोरङको टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बूढीगंगा–३ नेमुवामा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार पिउनेपानीको समस्या हल गर्दै जाने बताए । त्यसका लागि नीति बनाई तीन तहको सरकारबाट अलग अलग नभएर संयुक्त रुपमा एउटै योजना सञ्चालन गर्नुपर्ने जरुरी रहेको उनले धारणा राखे । ।
उनले बजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानीलाई दिनुपर्ने चर्चा गर्दै प्रदेश र संघले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।
कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गएको अवस्थामा सबैले तराई पहाडमा पानी पुनःभरण गर्न आग्रह गरे ।
सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदारलगायतले जनसंख्या वृद्धिअनुसार खानेपानी आवश्यकता टड्कारो रहेको धारणा राखे ।
टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानीमा २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा निर्मित आयोजनाको शुक्रबार उनले उद्घाटन गरेका हुन् । उक्त खानेपानी आयोजनामा ४५० घनमिटरको दुई ट्याङी र १६६ किलोमिटर पाइप विस्तारबाट सो गाउँपालिका–१,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी लाभान्वित भएका छन् ।