दाल, गेडागुडी आयातमा अग्रिम आयकर लगाउनु दुःखद्



काठमाडौं। नेपाल चामल, तेल र दाल उद्योग संघले नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने दाल उद्योगको कच्चापदार्थ (दाल, गेडागुडी) आयातमा अग्रिम आयकर लगाउनु दुःखद् भएको बताएको छ।

संघका अध्यक्ष कुमुद दुगडले आज विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कच्चापदार्थ आयतमा १० प्रतिशत अग्रिम आयकर थपिँदा दाल र गेडागुडी महँगो हुने र उपभोक्ता मारमा पर्ने बताएका छन्।


‘कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातीत तयारी दाल, गेडागुडी र खुला सिमानाबाट आयात हुने गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग बन्द हुने स्थिति आउनसक्छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। हाल मिलको कच्चा दाल र गेडागुडी आयतमा १० प्रतिशत भन्सार महसुल लागिरहेको अवस्थामा अग्रिम करले गेडागुडी झन महँगो हुने संघले जनाएको छ।

नेपालमा हाल ३५ दाल उद्योगमा झण्डै रु ३५ अर्ब लगानी रहेको र पाँच हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइ मुलुकको राजस्वमा उल्लेख्य योगदान दिँदै आएको अध्यक्ष दुगडले बताए। संघले स्वदेशी दाल उद्योगले १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने भएकाले कच्चा दालमा लागेको अग्रिम आयकर खारेज गर्न सरकारसँग अनुरोध गरेको छ।