तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री



काठमाडौँ । नेपालगञ्जमा आज अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए । उनका अनुसार आज दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । 


यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । आज विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ । 

काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ । आज पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।