सहकारी ठगी प्रकरण : कार्यदलसहित शीर्ष नेताको बैठक सुरु



काठमाडौँ । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत कांग्रेसका शीर्ष नेता सहभागी छन् । त्यसका अलावा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि बालुवाटार सहभागी छन् । शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ । 


यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो ।

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिक सहमति बनेपनि क्षेत्राधिकारमा कुरामा भने सहमति हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ।

सत्तापक्षले सुप्रिम, सूर्यदर्शन लगायत सहकारीहरूको नाम अनुसूचीमा उल्लेख गरेर जानुपर्ने अडान राखेको छ। यसैमा कुरा नमिल्दा कांग्रेसले संसददेखि सडकसम्म विरोध जनाएको छ ।