फास्ट ट्रयाकको डेढ किलोमिटर लामो धेद्रे सुरुङ ‘ब्रेक थ्रु’



काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, लगायतको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।


७१ किलोमिटर लम्बाइ रहेको काठमाडौं–तराई फास्ट ट्रया निर्माणका लागि नेपाली सेनाले जिम्मा लिएको छ । सुरूङ खन्ने काममा सेनाले राम्रै प्रगति हासिल गरेको छ। ३ वटै सुरूङमा काठमाडौंतर्फ जाने एउटा र आउने एउटा गरी दुई वटा सुरूङ छन्। जुन डबल लेनमा निर्माण भइरहेका छन्।