पश्चिम किनारको रमल्लाहमा दूतावास खोल्न कोलम्बियाली राष्ट्रपतिको आदेश



गाजामा जारी युद्धका बीच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले प्यालेस्टिनी सहर रमल्लाहमा दूतावास खोल्न आदेश दिनुभएको उहाँका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोलाई उद्धृत गर्दै अल जजिराले बताएको छ ।

“राष्ट्रपति पेट्रोले रमल्लाहमा कोलम्बियाको प्रतिनिधित्व गर्दै त्यहाँ दूतावास खोल्न आदेश दिनुभएको छ, यो हामीले लिने अर्को कदम हो”, विदेशमन्त्री मुरिलोले भने । उनका अनुसार धेरै देशले चाँडै संयुक्त राष्ट्रसङ्घसमक्ष प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्न थाल्नेछन् । कोलम्बियाले पहिला नै यी प्रयासलाई समर्थन गरिसकेको छ ।


पहिला नै तेलअभिवबाट कोलम्बियाली राजदूतलाई फिर्ता बोलाएका राष्ट्रपति पेट्रोले यसै महिनाको प्रारम्भमा गाजामा युद्धलाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बताएका थिए । अल जजिराका अनुसार दूतावास मे ३ मा बन्द गरिएको थियो ।

सन् २०२२ मा सत्तामा आएका वामपन्थी नेता पेट्रोलाई ल्याटिन अमेरिकामा ‘गुलाबी ज्वार’ भनेर प्रगतिशील लहरको हिस्सा मानिन्छ । युद्धको प्रारम्भपछि उनी यस क्षेत्रमा इजराइलको सबैभन्दा कटु आलोचकमध्ये एक हुन् ।

इजराइली विदेशमन्त्री इजराइल काट्जले इजराइलसँग सम्बन्ध तोड्ने कोलम्बियाको निर्णयपछि पेट्रोमाथि ‘यहुदीविरोधी भावना र घृणाले भरिएको’ आरोप लगाए । उनले कोलम्बियाको उक्त कदम हमासका लागि पुरस्कार भएको पनि आरोप लगाए ।

द्वन्द्व सुरु भएको केही दिनपछि अक्टोबरमा पेट्रोले इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टलाई ‘यहुदीहरूका बारेमा नाजीहरूले भनेजस्तै भाषा प्रयोगको गरेको’ आरोप लगाएपछि इजराइलले कोलम्बियामा ‘सुरक्षा निर्यात रोक्न’ भनेको थियो । अप्रिलमा पेट्रोले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा इजराइलमाथि नरसंहारको आरोप लगाउँदै दक्षिण अफ्रिकाको मुद्दामा सामेल हुन अनुरोध गरेका थिए ।

“यी प्रयासमा कोलम्बियाको अन्तिम उद्देश्य भनेको गाजामा प्यालेस्टिनीहरू विशेषगरी महिला, बालबालिका, अपाङ्ग र वृद्धजस्ता कमजोर जनसङ्ख्याका लागि तत्काल र पूर्ण सम्भावित सुरक्षा सुनिश्चित गर्नु हो”, सरकारले भनेको छ ।

कब्जा गरिएको पश्चिम किनारमा रमल्लाहले प्यालेस्टिनी प्राधिकरणको प्रशासनिक राजधानीका रूपमा काम गर्छ । मे १० मा राष्ट्रसङ्घीय महासभाले राष्ट्रसङ्घको पूर्ण सदस्य बन्ने प्यालेस्टिनी प्रयासलाई योग्य मान्दै भारी समर्थन गरेको थियो र राष्ट्रसङ्घीय सुरक्षा परिषद्सँग ‘यस मामिलामा अनुकूल तरिकाले पुनरविचार गर्न’ सिफारिस गरेको थियो ।

इजराइलसँग सम्बन्ध विच्छेद गर्ने कोलम्बिया पहिलो ल्याटिन अमेरिकी मुलुक होइन । बोलिभियाले गत वर्षको अक्टोबरमा इजराइलसँगको सम्बन्ध तोडेको थियो भने चिली र होन्डुरससहित ल्याटिन अमेरिकाका अन्य धेरै मुलुकले इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए ।