महेन्द्रनगर । धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ ।
जनकपुरधामबाट भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ स्रेस्तालगायत आवश्यक कागजात ढल्केबर ल्याइएपछि यहाँका कार्यालय सञ्चालनमा आउने निश्चित भएको हो ।
ढल्केबरमा ६ महिनाअगाडि मालपोत कार्यालयको स्थापना भएको भए पनि भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामले आवश्यक कागजात उपलब्ध नगराउँदा यहाँको कार्यालय सञ्चालनमा आउने÷नआउने विषयमा अन्योलता बढेको थियो ।
मालपोत कार्यालय ढल्केबरका प्रमुख अर्जुनकुमार मण्डलले भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामले मोठ स्रेस्तालगायत आवश्यक कागजात आइतबार उपलब्ध गराएको बताए ।
आवश्यक कागजात उपलब्ध भएपछि यहाँको कार्यालय सञ्चालनमा आउने निश्चित भएको कार्यालय प्रमुख मण्डलले जानकारी दिए । उनले कागजात आइपुगेको जनाउँदै सम्भवतः आगामी साताबाट सेवा सञ्चालन गर्ने बताए ।
उनले भने, ‘कागजात व्यवस्थित गर्दैछौँ, सम्भवतः एक साताको समय लाग्छ, त्यतिजेञ्लसम्म सेवा बन्द रहन्छ, सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गर्छौँ ।’
कार्यालय प्रमुख मण्डलका अनुसार मालपोत र नापी कार्यालय ढल्केबरमा साबिकका गाविस ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ स्रेस्ता ल्याइएको छ ।
विसं २०७२ असोज १४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७३ माघमा यहाँ नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुन सकेको थिएन ।
सोही कारण नापी कार्यालय स्थापना भएको सात वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुन सकेको थिएन । करिब ६ महिनाअघि ढल्केबरमा मालपोत कार्यालयको स्थापना भएसँगै सञ्चालनमा ल्याउनका लागि प्रयास सुरु भएको थियो ।