स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था स्थिर



गोली लागी घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर रहेको स्लोभाकियाली स्वास्थ्यमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री फिकोलाई बुधबार एक बन्दूकधारी व्यक्तिले गोली हानी हत्या गर्ने प्रयास गरेका थिए । आक्रमणपछि बिहीबार र शुक्रबार दुई वटा सफल शल्यक्रिया भएका छन् भने उनको अवस्था ‘सुधारोन्मुख’ रहेको स्वास्थ्य मन्त्रालयले उनको उपचारमा सम्लग्न चिकित्सकहरूलाई उद्धृत गरी जनाएका छन् ।


फिकालाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । स्लोभाकको मध्य शहर बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा बुधबार पाँच घण्टा र शुक्रबार अर्को शल्यक्रिया गरिएको हो । स्वास्थ्यमन्त्री जुजाना डोलिंकोभाले भने, “दुई घण्टा लगाएर गरिएको शल्यक्रियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ‘सकारात्मक’ पूर्वानुमान गर्न मद्दत गरेको छ ।” “प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर छ तर शल्यक्रियापछि स्वास्थ्यमा कुनै नकारात्मक खतराका सङ्केत देखिएका छैनन्,” उनले भने ।

स्लोभाकियाका सञ्चार माध्यमका अनुसार आक्रमणका लागि आरोपित ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ । सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ ।

सेन्ट्रल माइनिङ टाउन ह्यान्डलोभामा भएको सरकारी बैठकपछि समर्थकलाई अभिवादन गर्न हिँडिरहेका फिकोलाई गोली हानिएको थियो । रक्षामन्त्री तथा फिकोका निकटतम राजनीतिक सहयोगी उपप्रधानमन्त्री रोबर्ट कालिनाकले प्रधानमन्त्री होशमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले भने, “प्रधानमन्त्री फिकोको अवस्था अझै गम्भीर छ त्यसैले आगामी केही दिन उहाँलाई उपचार गरिराखिएको अस्पतालबाट ब्रातिस्लाभा लैगिहाने अवस्था छैन ।”

कालिनाकले शनिबार टीए३ समाचार च्यानललाई बताएअनुसार फिकोलाई चार वटा गोली लागेको छ, जसमा दुई हल्का, एक मध्यम र एक गम्भीर चोट लागेको छ । उनान्साठी वर्षीय फिको उनको मध्यमार्गी दलले निर्वाचनमा बहुमत ल्याएपछि गत अक्टोबरमा पदभार ग्रहण गरेका थिए । रुस र स्लोभाकियाको छिमेकी मुलुक युक्रेनबीच शान्ति स्थापनाका लागि र किएभलाई दिइने सैन्य सहायता रोक्ने प्रस्तावमाथि अभियान चलाएपछि उनी चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल भएका थिए ।