भैँसीपालनले प्रख्यात बझाङको त्याडीगाउँ



चैनपुर (बझाङ) । सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बीचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भीमलका रुखहरू । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका–६ त्याडीगाउँ हो । घरघरमा दुहुनो भैँसी भएपछि पाहुनामात्र होइन छिमेकी समेत त्याडीगाउँको गोरस (दही—दूध) का पारखी छन् ।

यहाँका महिलाको दिनचर्या भैँसीको हेरचाहमै जान्छ । “टाढा नगया पन देलाउँदोई भैँसाकी गोठाली छु”, बझाङी भाषामा दीक्षा बोहराले भनिन्, “हामी आँगनकै भैँसी पाल्छौँ । त्यसैले घरमै भए पनि भैँसीको ग्वालो ९गोठालो० लाग्नुपरेको छ ।” दीक्षाका अनुसार गाउँमा सबै परिवारले एक भैँसी र एक गोरु पालेका छन् । “भैँसी सबैले दुहुनोमात्रै पाल्छन् । दूध नदिने भएपछि त्यसलाई बिक्री गरेर भए पनि नयाँ भैँसी ल्याइहाल्छन्, एकजनाको त कामै यिनैको रेखदेख गर्नु हो”, उनले भनिन् ।


त्याडीगाउँमा ४२ परिवार छन् । ती सबैको घरमा भैँसी र गोरु पालिएका छन् । त्याडीगाउँकी बाटुली बोहराले भनिन्, “गोरु वल्लोपल्लो घरको हल बनाएर जोत्छौँ । भैँसी सबैको घरमा गोरस (दही–दूध) खानलाई हुन्छ ।” सो गाउँमा कसैको घरमा पनि कहिल्यै गोरसको कमी नहुने उनले बताइन् । बाटुलीको घरमा नौजना छन् । उनीहरू सबैले घरायसी काम गर्छन् । त्यतिलाई एउटा दुहुनो भैँसीको गोरसले पुगिरहेकै छ । “गोरस नभई खानेकुरा निल्न (खान) सकिँदैन”, बाटुलीले भन्छिन्, “उहिल्यैबाट भैँसी पाल्ने हुँदा अहिले पनि छाड्न सकेका छैनौँ । भैँसी नभए बाँच्न पनि सकिँदैन कि जस्तो लाग्छ । त्यसैले एउटा भए पनि पालिरहन्छौँ ।”

स्थानीयका अनुसार त्याडीगाउँमा पहिले भैँसी पाल्नबीच प्रतिस्पर्धा नै हुन्थ्यो । अहिले सबैले घटाए । स्थानीय उत्तम बोहरा भन्छन्,“कहिलेकाहीँ छिमेकीको घरमा नभए पनि सबैले पुग्नेगरी दिइहाल्छन् । नत्र भैँसी खासै कसैको घरमा पनि टुट्दैन”, उत्तम बोहराले भने । त्याडीगाउँका भैँसी बर्खायाममा चर्न पाउँदैनन् । भिरालो जमिन भएकाले लेकतिर लिएपछि मात्रै भैँसीले चर्न पाउने गरेको र बाँकी समय घरमै राखेर गाजो (खर) खुवाउने गरिएको उनको भनाइ छ ।

उत्तमका अनुसार सो गाउँका बोहराले दूध र दूधजन्य पदार्थ खासै बेच्दैनन् । सबैको घरमा भैँसी रहेकाले व्यावसायिकरूपमा कोही नलागेका हुन् । घ्यू भने आफन्त तथन भारतमा गएका छोराबुहारीलाई दिन्छन् ।

गाउँपालिका उपाध्यक्ष मनिषा धामी दूधमा आत्मनिर्भर सो गाउँ सबैको नजरमा रहेको बताउछिन् । अरु गाउँले पनि सो गाउँबाट सिक्नुपर्ने उनको भनाइ छ । “त्याडीगाउँ एउटा आत्मनिर्भर गाउँ हो । यहाँका सबै मानिस आफ्नो काममै हुन्छन् । गरिखाने समुदाय त्याडीगाउँ नै हो । यहाँको सिको अरु गाउँले पनि गर्न सकेको भए धेरै राम्रो हुन्थो”, उनले भनिन् ।