काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद् बैठकमै धकेलाधकेल भएको छ ।
आफूहरूको विरोधबीच गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिँदा कांग्रेस सांसदहरू आक्रोशित भएका थिए ।
आक्रोशित मुद्रामा प्रस्तुत भएका कांग्रेस सांसदहरूलाई सम्झाउँदै ओली आशनबाट उठेर अघि बढेका थिए ।
ओली अघि बढेर कांग्रेस सांसदहरूको आशननजिक पुग्नेबित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले मुठ्ठी उठाएर नाराबाजी गर्न थाले ।
चर्को नाराबाजी गर्दै गुरुङ आक्रोशित मुद्रामा प्रस्तुत भएपछि ओली पनि रिसाउन पुगे । दुईजनाबीचको विवाद धकेलाधकेलमा पुगेपछि एमाले सांसदहरू अघि बढे।
लगत्तै कांग्रेस सांसदहरू पनि त्यहाँ जम्मा भए । दुवै दलका सांसदहरूबीच केहीबेर धकेलाधकेल र घम्साघम्सी नै चल्यो । संसद्मा तनाव बढेपछि सभामुख देवराज घिमिरले बैठक भोलिसम्मलाई स्थगित गरेका छन् ।