काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले देशलाई खेलकुदको माध्यमबाट अझै माथि पुर्याउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि अदालत प्राङगणमा पुगेका सन्दीपले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले सम्मान गरेर अघि बढ्ने बताएका छन् ।
‘एक वर्षभन्दा धैरै भयो । पहिलो दिनदेखि नै मैले आफू निर्दोष छु भनेर भनिरहेको थिएँ । धेरै नै तरिकाले मलाई नभएको अपराधो दोषी खडा गरिएको थियो । अन्ततः हामी यहाँसम्म आइसकेका छौँ । मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, आज पनि उच्च अदालतको फैसलाको सम्मान गरेर अगाडि बढ्नेछु । जतिले पनि मलाई साथ दिनुभएको थियो, आभारी छु । आगामी दिन नेपाललाई जहाँ मैले पुर्याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्याउनेछु,’ उनले भने ।
सन्दीप आज बलात्कार मुद्दामा निर्दोष ठहर भएका थिए । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो ।
१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले सन्दीपको पक्षमा फैसला गरेको हो ।