जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकीर गरेका छन् ।
मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उनले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाए । विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उनले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असरनपर्ने दाबीसमेत गरे ।
आफूबाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उनले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उनको भनाइ थियो ।