दाताको सहयोगबाट चल्छ देवघाटको वृद्धाश्रम



तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन् । विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन् ।

उक्त समाज कल्याण केन्द्र दानवीरकै सहयोगमा निर्भर हुँदै आएको छ । नेपाल सरकारद्वारा विसं २०५२ मा स्थापित देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित उक्त केन्द्रमा सरकारले पर्याप्त बजेटको प्रबन्ध नगर्दा दाताहरुकै सहयोगमा निर्भर हुनुपरेको हो ।


सन्तान नभएका आश्रयहीन बुबाआमा आश्रममा रहेको आश्रमका व्यवस्थापक देवु अधिकारीले जानकारी दिए। उनले भने, “बजेटको समस्याका कारण आश्रम दाताको सहयोगले चलिरहेको छ, विभिन्न अवसरमा दाताहरुले सहयोग गर्दै आउनुभएको छ ।”

आश्रममा एउटै कोठामा आठदेखि नौजना राख्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, “गर्मी महिनामा कुनै बुबाआमालाई पङ्खा नभई नहुने, कसैलाई पङ्खा चाहिँदै नचाहिने जस्ता समस्याले वृद्धवृद्धालाई एउटै कोठामा राख्दा समस्या परेको छ ।”

वृद्धाश्रममा पर्याप्त कोठाको अभाव हुँदा स्वस्थ्य र बिरामीलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको छ । महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै शौचालय नहुँदा वृद्धवृद्धाको नित्यकर्ममा समेत समस्या आउने गरेको अधिकारीको भनाइ छ ।

वृद्धाश्रममा पर्याप्त आवास, शौचालय, मनोरञ्जनस्थल, स्नान कक्ष, सुविधाजनक भान्सा, विश्रामकक्षको उचित प्रबन्ध गर्न राज्यले ध्यान दिनुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष सदन बरालले बताए।

बरालका अनुसार वृद्धाश्रम दाताहरुसँग सहयोग मागेर सञ्चालन गर्नुपर्ने बाध्यता छ । दाताहरुले जन्मोत्सव, वैवाहिक वर्षगाँठ, पितृ स्मृति दिवसजस्ता सन्दर्भमा आश्रममा नगद, अन्नदान, वस्त्रदान, निःशुल्क भोजन र दानपेटिकामा राखेको नगदबाटै आश्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बरालको भनाइ छ । उनले भने “सरकारले देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्धाश्रमलाई कम प्राथमिकता दिएको छ, वृद्धवृद्धाको उचित संरक्षण गर्नका लागि राज्यका निकायले चासो नदिँदा समस्या परिरहेको छ ।”

वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको खानपिन तथा अन्य कार्यका लागि बजेट उपलब्ध नभए पनि आश्रममा कार्यरत व्यवस्थापक, भान्से र सहयोगीसहितका कर्मचारीका लागि मासिक पारिश्रमिक भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजन भइरहेको छ । आश्रममा एक व्यवस्थापक, दुई भान्से, दुई सुसारे र एक चौकीदार गरी छजना कर्मचारी रहेका छन् ।

वृद्धाश्रमको भवन व्यवस्थित छैन । झ्याल–ढोकामा जालीसमेत राख्न नसकिएका कारणले वृद्धवृद्धाहरुलाई बाँदरले समेत हैरानी पार्ने गरेको छ । झ्याल बन्द गर्दा कोठा गुम्सिने, गन्ध आउने, झ्याल खुल्ला राख्दा बाँदर आश्रमको कोठा र भान्साभित्र पसी खाद्य सामग्री नष्ट गर्ने, लुगा च्यात्ने तथा नोक्सानी पु¥याउने गरेको छ ।

तीन जिल्लाको सङ्गमस्थल देवघाटधाम चितवनले तनहुँको भन्ने, तनहुँले नवलपरासीको र नवलपरासीले चितवनको आश्रम हो भनी एक जिल्लाले अर्को जिल्ला तथा एक पालिकाले अर्को पालिकालाई देखाउने प्रवृत्तिले गर्दा आश्रमको व्यवस्थापनमा कठिनाइ भएको बरालको भनाइ छ ।

वृद्धाश्रमलाई ज्येष्ठ नागरिक ग्रामका रुपमा सञ्चालन तथा निर्माण गर्ने सरकारको निर्णय भए पनि बजेटको प्रबन्ध नहुँदा काम अलपत्र परेको छ । बरालले भने, “देवघाटधाममा जीवनको उत्तरार्धमा जीवन व्यतित गर्न चाहने धेरै ठाउँबाट वृद्धवृद्धा आउनुभएको छ, आश्रमलाई व्यवस्थित गर्न राष्ट्रिय स्तरको मापदण्ड बनाई सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ ।”