कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाको आज आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेकाले अब अवस्था बदल्न लाग्नुपर्ने बताए। ‘विगतमा आन्दोलनको समय थियो । त्यतिबेला हरेकलाई आन्दोलनमा हिँडायौँ तर आज त्यो अवस्था छैन। त्यसैले अब विद्यालय निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत हरेक नागरिकका हकअधिकारहरुलाई सुरक्षित गर्दैै लैजानुपर्ने अभिभारा हाम्रो काँधमा छ’, उनले भने।
त्यस्तै, नयाँ नेपाल निर्माण र समृद्धिको अभियान अगाडि बढाउने जिम्मा नेकपा (एमाले)को काँधमा आएको भन्दै उनले यो अभियानमा लामबद्ध हुन जरूरी रहेको धारणा राखे।
उनले भने, ‘हामी जनताको सेवाका लागि राजनीति गरिरहेका छौँ। त्यसैले पार्टीले सुरूगरेको अभियानलाई गन्तव्यमा पुर्याउन नगर÷गाउँ कमिटीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, विद्युत्, सञ्चार, पर्यटनलगायत क्षेत्रको विकासका लागि योगदान गर्नुपर्छ। त्यसका लागि व्यक्तिगत स्वार्थभन्दामाथि उठेर जनताका काममा जुट्न म आग्रह गर्दछु।’