प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा



पाटन (ललितपुर) ।  सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकि छिन् । 

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन भनिन् । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समावेशीताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ । यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ”, उनले भनिन् । 


मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले प्रक्रियागत ढिलाइका बाबजुद पनि मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको बताइन् । 

नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको मन्त्री शर्माले बताइन् । 

नीतिगत विषय समाधान गरेपछि समस्याको दिगो समाधान हुने उनले विश्वास व्यक्त गरिन् । मन्त्री शर्माले संविधानमा भएको त्रुटिलाई सच्याएर व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तन गराउनमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै संविधानको व्यवहारिक कार्यान्वयन गर्दै कानुनी कुरा स्थापित गर्न मिडियाको व्यापक अभियान आवश्यक रहेको बताइन् । 

“संवैधानिक रुपमा वंशको अधिकार छोरीलाई भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । अझै पनि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता लिन कठिनाइ भइरहेकाले यसका लागि मिडियाले कमजोरी उजागर गर्दै सहज बनाउन सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।

अहिलेको व्यवस्था र आन्दोलनप्रतिको नकारात्मक धारणाको विकास भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सकारात्मक धारणाको विकास गर्दै प्रशासनिक सुधारमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।

“व्यवस्थामा सञ्चालकले गरेको गल्तीलाई व्यवस्था कै गल्तीकै रुपमा लिन हुँदैन । गल्ती गर्ने ढिलोचाँडो कानुनी दायरमा आउँछ । व्यवस्थालाई उपयोग गरेर भएको व्यक्तिको बदमासीको उजागर गरौँ । तर व्यवस्थालाई भारी बोकाएर खराब बनाउने काम नगरौँ”, मन्त्री शर्माले भनिन् ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणमा क्रियाशील पत्रकारको सदस्यता छुट्नु, विधान बमोजिम सदस्यको नामावली आएको ६ महिनापछि मात्रै अधिवेशन हुने व्यवस्था महासङ्घले लागू गर्न नसकेको आरोप लगाए । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेलगायतले पत्रकारितालाई व्यवस्थित गराउनु आवश्यक रहेको धारणा राखेका थिए ।