काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् ।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् ।