एमाले महाधिवेशन प्रतिनिधि परिषद् : पेस भएका प्रतिवेदनमा आज समूहगत छलफल



काठमाडौँ । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पेस भएका  प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ । पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।

परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।


तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणाममुखी र सफल तुल्याउँदै अर्थतन्त्रलाई चलायमान  बनाउने, सहकारपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

यस्तै प्राविधिक शिक्षाको विस्तार र  लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधीनताका आधारमा सुदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । आज समूहगत छलफल र पारित हुनेछ ।

परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल  र पारित हुने दस्ताबेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।

सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।