गुल्मीमा दुई सातामा दुई सय हेक्टर वनमा डढेलो



गुल्मी। एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ। आगलागीका कारण जंगल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन्। यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन्।

डिभिजन वन कार्यालय गुल्मीले दिएको जानकारीअनुसार जिल्लामा आजसम्म दुई सयभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ। दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतंकित बनाउन थालेको छ। कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जंगल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बाध्यता छ। रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि भनेर मानिसमा त्रासैत्रासमा रात गुजार्ने गर्दछन्।


जब गर्मी मौसम सुरु हुन्छ तब यस्ता आगलागीका घटना बढ्दै जाने गर्दछन्। गत दुई साताको अवधिमा गुल्मीको रेसुंगा, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, इस्मा, कालीगण्डकीलगायत पालिकामा बढी मात्रामा डढेलो लागेको छ। निजी जंगलमध्ये ६० हेक्टरमा डढेलो लागेको छ। निजी जङ्लको तुलनामा सामुदायिक वन क्षेत्रमा आगलागीको घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत राजन कुँवरले जानकारी दिए।

जंगलमा आगो लगाएपछि राम्रोसँग घाँस पलाउने, आगोले जंगलमा रहेका काठदाउरा सुक्ने हुँदा घाँस तथा दाउराको लोभमा वनमा डढेलो लगाउने बताइएको छ। मानिसमा चेतनाकै अभावका कारण गुल्मी जिल्लामा दिनहुँ आगलागीका घटना बढेको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत पंकजकुमार ठाकुरले बताए।

उनका अनुसार आगो लागाउने व्यक्तिलाई कडा सजायको व्यवस्था छ तर आगो कसले लगाएको हो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएका कारण कतिपय घटनामा आवश्यक कानुनी कारबाही प्रक्रियाअघि बढाउन नसकिएको बताए।

आगलागीका कारण स्थानीयवासीलाई मात्र नभई जिल्लास्थित सुरक्षाकर्मीलाई हैरानी थपिएको छ। आगलागीको जानकारी पाएपछि प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेर आगो निभाउने काममा सक्रिय बनेका हुन्छन्। यसले स्थानीयवासीलाई जोखिमबाट जोगाउनेमा थप मद्दत मिलेको छ।

गत १४ वर्षअघि इस्मा गाउँपालिकाअन्तर्गत हस्तिचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीको अकालमै ज्यान गयो। त्यसैगरी, गत आठ वर्षअघि मदाने गाउँपालिकाअन्तर्गत मलायगिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा स्थानीय कमल खड्का र इस्मा गाउँपालिकास्थित दोहलीका तुल्सी लामा गुरुङ, लोकबहादुर गुरुङ र गोपाल सुनारको पनि डढेलो नियन्त्रणको क्रममा आगोमा परेर ज्यान गएको थियो।

जिल्लाका विभिन्न जंगलमा अहिले पनि डढेलो लागिरहेको छ। डढेलो नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको खासै चासो देखिँदैन। आगलागी नियन्त्रणकै क्रममा पछिल्लो पाँच वर्षको अवधिमा ११ जनाको ज्यान गइसकेको छ तर राहतको प्रतीक्षामा बसिरहेका पीडित परिवाले भने अझैसम्म पनि राहत पाउन नसकेको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले बताए। उनले राहतका लागि कार्यालय, जिल्ला प्रशासनदेखि नेतालाई भने पनि पीडित परिवारले अझैसम्म राहत नपाएको गुनासो गरे।