कर्णालीका पर्यटनमन्त्री लामाको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट दर्ता



कर्णाली । फौजदारी अभियोगमा सजाय पाएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट परेको छ ।

रिट निवेदक विनिता बोगटीले लामासहित कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभालाई विपक्षी बनाएकी छन् । ऐनविपरीत फौजदारी कसुरमा सजाय भोकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै उनले उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै रिट दायर गरेकी हुन् ।


माघ २३ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । सोही क्रममा पर्यटन मन्त्रीमा नियुक्त भएका हुम्लाका गैरसांसद लामा मूर्ति चोरी गरेको अभियोगमा सजाय पाएका व्यक्ति हुन् । झण्डै १२ सय बर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको प्रमाणित भएपछि लामाले दुई बर्ष कैद भुक्तान गर्नुका साथै पाँच हजार रुपैयाँ जरिवाना तिरेका थिए ।

निवेदक बोगटीले यस्तै महिला मन्त्री शून्य भएको मन्त्रिपरिषदलाई समावेशी सिद्धान्तबमोजिम गठनका लागि पनि परमादेश माग गरेकी छन् । यसअघि पनि महिला मन्त्री नभएको मन्त्रिपरिषद समावेशी मर्मविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको थियो । उक्त रिटका विषयमा उच्च अदालतले फागुन १० गते रिट निवेदक र विपक्षीलाई उपस्थित हुन भनेको छ।