रफाहमाथिको आक्रमण रोकिदैन : इजरायली प्रधानमन्त्री नेतान्याहू



गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने इजरायलले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले तेल अभिभबाहिर रहेको सैन्य शिविरमा नयाँ भर्ना भएका सैनिकसँग भन्नुभयो, “इजरायली सेनाले रफाहसहित हमासका बटालियनहरूलाई हटाउने काम पूरा गर्नेछ ।”


प्यालेस्टिनी सहरमा जमीनी आक्रमण रोक्न अन्तर्राष्ट्रिय दवाव आइरहेको तर ‘आफुलाई रोक्न सक्ने कुनै पनि शक्ति संसारमा नभएको’ उनले बताए । उनले रफाहमा कहिले आक्रमण गर्ने मिति भने खुलाएका छैनन् ।

गाजाको अन्य क्षेत्रमा कस्ने करिब १४ लाख मानिसहरू बमबारीबाट बच्न रफाहमा शरण लिइरहेका छन् । संयुक्त राष्ट्रसङ्घ र सहायता विज्ञहरूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा इजरायलले कुनै पनि सैन्य अभियान चलाउनु नहुने बारम्बार चेतावनी दिँदै आएका छन् ।