काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काग्रेसले उठाएको विषयमा संसदीय समिति नबन्ने बताएका छन् । आज (सोमबार) सभामुख देवराज घिमिरेले संसद् सुचारु गर्नका लागि बोलाएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
कांग्रेसले आजको छलफलमा पनि आफ्नो यथावत माग राखेको बताउँदै उनले भने, ‘बैठकमा हामीले फेरिपनि भनेका छौं– तपाईँहरुले जे विषय उठाइरहनु भएको छ, राजनीतिक पूर्वाग्रही विषयमा संसदीय समिति बन्न सक्दैन । छानविन समिति बन्न सक्दैन, हामीले प्रष्ट भनेका छौं । छानविन समितिको माग जायज छैन, न्यायोचित पनि छैन । यस्ता हल्का विषयमा समेत संसदीय समिति बनाउँदै जाने हो भने हामी ठीक ठाउँमा पुग्दैनौं । त्यसकारण संसदीय समिति बन्दैन ।’
आफूहरुले स्पष्ट शब्दमा कांग्रेसलाई आफ्नो मागमा रिभ्यु गर्न आग्रह गरेको उनले बताए । संसद् अगाडि बढ्ने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गरेको छ ।
कांग्रेसले संसदीय समितिको माग गरेपनि सरकार समिति बनाउन तयार भएको छैन । भोलिको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयक संसद्मा पेश गर्ने कार्यतालिका रहेको छ । तर, कांग्रेसले गृहमन्त्रीलाई रोस्टममा जान नदिने बताउँदै आएको छ ।