चैत २३ र २४ गते बोलाइएको भनिएको बैठक नाउपाको होईनः रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले चैत २३ र २४ गते बोलाइएको भनिएको बैठक आधिकारिक नभएको प्रष्ट पारेकी छन् । आज (मंगलबार) विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले उक्त मितिमा बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठकमा कुनै आधिकारिकता नरहेको बताएकी हुन् ।

‘२०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीज्यूहरुको बैठक भनी बोलाइएको बैठक नागरिक उन्मुक्ति पार्टीको आधिकारिक बैठक नभएको ब्यहोरा अनुरोध गर्दछु,’– रञ्जिताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


पछिल्लो समय नाउपामा आन्तरिक विवाद चुलिएको छ । नाउपाका महासचिव गंगाराम चौधरीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक आगामी २३ र २४ गतेका लागि डाकिएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

‘पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा पार्टीको महत्वपूर्ण विषयवस्तुमा छलफल गर्नुपर्ने भएकाले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन’ भनी महासचिव चौधरीले पत्र जारी गरेका थिए ।

उक्त पत्रको काउन्टरमा अध्यक्ष रञ्जिताले उक्त बैठक नागरिक उन्मुक्ति पार्टीको नभएको भन्दै अर्को पत्र जारी गरेकी हु्न् । प्रथम महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन ।