काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको नेतृत्व नेकपा एमालेलाई दिन निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्रीले एमालेका लागि बाटो खुला गर्न मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले गठबन्धनमा भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई फोन गरी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न निर्देशन दिएका छन् ।
मल्लले भने, ‘केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।’
यसरी आफ्नै पार्टीका नेता मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका बेला प्रचण्डले एमालेलाई समर्थन गर्न निर्देशन दिएपछि एमालेले मुख्यमन्त्री पाउने सम्भावना बढेको हो । तर, मुख्यमन्त्री शर्मालाई पार्टी उपमहासचिव जनार्दन शर्माको बलियो साथ छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।