काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लटरपटर पार्ने, झुक्याउने र धैर्यता नभएकाहरु राजनीतिमा हाबी हुन थालेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भने, ‘छट्टुहरु हावी हुन थाले । छुट्टुहरु के हुन्छभने आउँछ, लटरपटर पार्छ, झुक्याउँछ, यसो रङ्गरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होईन, धैर्यता भएको, गति पनि भएको मान्छे चाहिएको हो । गति र मति दुवै भएको मान्छे चाहिएको हो । मति छ, गति छैन, गति छ मती छैन ।’
पछिल्लो समय रास्वपा सभापति लामिछाने र कांग्रेस महामन्त्री थापा एकअर्काविरुद्ध वाकयुद्धमा होमिएका छन् । केही दिनअघि लामिछानेले पनि थापाविरुद्ध विष वमन गरेका थिए ।