काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको१० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।
जग्गा फिर्ता ल्याउने प्रक्रिया थालिहाल्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई आइतबार गृहमन्त्री लामिछानेले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
गृहमन्त्री लामिछानेको सचिवालयले ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिनुभएको छ र त्यसका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ ।’
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सांसद विनोद चौधरीसँग पनि बयान लिन लागेको हो ।