प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः सहकारी ठगीमा मुछिएकालाई किन बनाइयो गृहमन्त्री ?



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रधानन्त्रीको जवाफ माग गरेकी हुन् ।

उनले संस्दमा विगत केही दिनदेखि विवादास्पद मन्त्रीको बारेमा कुरा उठेको र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गरेको टिप्पणी गरिन् ।


उनले भनिन्, ‘सहकारी ठगीमा जोडिएकालाई ल्याएर साँच्चै उहाँले उथलपुथल गर्नुभएछ । कानुन नै उथलपुथल हुने गरी गृहमन्त्री बनाउनुभएछ। आफ्नै मुद्दामा आफैं न्यायाधीश हुने गरी प्राकृतिक न्यायको सिद्धान्त विपरीत उहाँलाई कसरी मन्त्री बनाएर ल्याइयो ?’

उनले स्वार्थ बाझिने मुद्दामा आफ्नो मुद्दामा आफैँ फैसला गर्ने गरी गृहमन्त्री बनाइएकोमा उनले आपत्ति जनाइन् । उनले पूर्वउपराष्ट्रपतिका छोरा र गृहमन्त्रीबारे जानकारी नगराई अबको सदन सहज चल्न नदिने चेतावनी दिएकी छन् ।