काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद सचिवालयले भोलि मंगलरबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ ।
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि नै सत्ता गठबन्धनमा माओवादीले राष्ट्रियसभाको अध्यक्ष पाउने समझदारी भएको छ । यस्तै, नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रियसभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए । उनलाई सभापति देउवाले शनिबार राष्ट्रियसभा दल नेता मनोनीत गरेका थिए । सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारबाट ब्याक भएका हुन् ।
मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रियसभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जनाएको छ ।