काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जे चलिरहेको छ त्योभन्दा फरक गर्न सक्ने विश्वासका साथ आफूले गृह मन्त्रालय रोजेको बताएका छन् ।
बुधबार साँझ पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न आफू गृहमा आएको बताएका हुन् । उनले न्याय माग्न मन्त्री भेट्न आउनुपर्ने वातावरणको अन्त्य गर्ने गरी काम गर्नुपर्ने बताए ।
उनले आम नागरिकले बाटोमा प्रहरी अधिकारीलाई देख्ने बित्तिकै म सुरक्षित छु भन्ने महसुस गराउनुपर्ने बताए । गृहमन्त्री लामिछानेले नागरिकलाई नयाँ सरकार गठन भएको महसुस गराउने बताए । उनले ७७ जिल्लामै सरकारको स्वामित्वमा रहेका जग्गाको विवरण संकलन गरेर कसैले सरकारी जग्गा व्यक्ति वा निजी संस्थाले कब्जा गरेको भए कारबाही अगाडि बढाउने बताए ।