टीआरसी विधेयकमा सहमति जुटाउन अहिले बिहानै संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन आज बिहानै संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक अहिले बिहान पौने आठ बजे बस्दैछ ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।


हिजो बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विधेयकबारे छलफल भएको थियो । हिजै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार टीआरसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुटै छलफल गरेका थिए ।