काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफलमा बोलाएका छन् । सत्ता गठबन्धनमा खटपट देखिएका बेला देउवाले आफ्नो निवास बूढानीलकण्ठमा मन्त्रीहरुलाई छलफलका लागि बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका छन् । आफू तेस्रो पटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा उनले प्रभावकारी कार्य सम्पादन नभएका मन्त्रीहरु फेरेर भएपनि जनतालाई डेलिभरी, सुशासन र समाजिक न्यायको पक्षमा काम गर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले कार्य सम्पादन प्रभावकारी नभएका मन्त्रीहरु फेर्न सभापति देउवासँग परामर्श गरेपनि आफ्ना मन्त्री नचलाउन देउवाले चेतावनी दिएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् ।
पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाश शरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका हुन् ।