काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्रीले संसद्को रुलिङ बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्न र संसद्मा आएर जवाफ दिन कसले रोकेको छ ? भन्दै प्रश्न गरे ।
‘सरकारलाई संसद्प्रति जवाफदेही बनाउन पर्यो । सरकार संसद्प्रति जवाफदेही भएन । बालकुमारी घटनामा दोषी करार भएका, सरकारी छानविन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न वा राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के– ले रोकेको छ ? प्रधानमन्त्रीलाई संसद्मा आएर जवाफ दिन के–ले रोकेको छ ?’ उनले प्रश्न गरे ।
यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन्। उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ ।
बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै, टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।
उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन्।