मोरङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो



मोरङ । मोरङस्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ र ३ को सिमानामा आज बिहान भएको दुर्घटनामा पररी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो ।


दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर अरु २ जना घाइते भएका छन् ।

घाइतेहरु कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरोमा उपचार भइरहेको छ । घाइतेमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६ः३० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरतर्फ पठाएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बोलेरो बसको पछिपछि आउँदै थियो ।

प्रहरीका अनुसार घाइते हरि मृतक दीपाका पति (श्रीमान)हुन् भने घाइते गायत्री मृतक यदुकान्तकी पत्नी (श्रीमती) हुन् । मृतकमध्ये कृष्ण बोलेरो चालक हुन् ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।