काठमाडौं । नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज–लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाई गर्न सरकारसँग माग गरेको छ ।
बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज–लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरको भन्दै उनीहरूलाई बिनासर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो ।
४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ । त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारवाही गर्न माग गरेको छ भने मिटरव्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि फुटपातमा सर्वसाधारणलाई हिँड्न समेत रोक लगाएर तारबार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए ।
जवाफमा गृहमन्त्रीले मिटरव्याज–लघुवित्त पीडितहरुको विनासर्त रिहाई र मुद्दा नचलाउने गरि सहजीकरण गर्ने र मिटरव्याज–लघुवित्त पीडितको माग सम्बोधन हुने गरि वार्तामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको बर्तौलाले बताए ।