सुन तस्करी प्रकरण : कलेज सञ्चालक गुरुङ पक्राउ



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ ।  डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका सञ्चालक रहेका गुरुङलाई सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीलाई पनि पक्राउ गरेको थियो ।


भन्सार कार्यालयले यस प्रकरण मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो ।

यस्तै, विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने÷मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको छ । भन्सार कार्यालयले त्यतिबेला जीवनकुमारविरूद्ध मुद्दा चलाएको थिएन । अब पूरक अनुसन्धानको क्रममा उनको संलग्नता देखिएपछि पक्राउ पुर्जी लिइएको थियो ।

प्रहरी स्रोतका अनुसार गुरुङ र मीनबहादुर घलेबीच बारम्बार कुराकानी भएको प्रमाण फेला पारेको छ । भन्सार कार्यालयले उनीसँगै थप केही व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेको छ ।