लुम्बिनी प्रदेश सांसद यादव भ्रष्टाचार आरोपमा निलम्बित



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित भएका छन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ ।


यादवसहित कपिलवस्तुका ८ वन अधिकृतसहित १९ जनाविरुद्ध कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमार्फत अनुमति लिएभन्दा बढी काठ कटान गरेर बेची भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको हो ।

राप्रपाबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को २ मा निर्वाचित सांसद यादव यसअघि यातायात मन्त्री बनेका थिए । उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।