रुसको ए–५० जासुसी विमान खसालिदिएको युक्रेनको दाबी



बीबीसी । युक्रेनले दोस्रो रुसी ए–५० जासुसी विमान खसालिदिएको दाबी गरेको छ । उक्त सैन्य विमानलाई रुसी सहर रोस्तोभ–अन–दोन र क्रास्नोदा बीचमा प्रहार गरिएको युक्रेनी सैन्य स्रोतहरूले जनाएका छन् ।

उक्त स्थान अग्रमोर्चाभन्दा झण्डै २०० किलोमिटर पर हो । विभिन्न विवरणहरूका अनुसार आपतकालीन सेवाहरूले विमानका टुक्राहरू फेला पारेका छन् र त्यसमा लागेको आगो निभाएका छन् । उक्त दाबीबारे रुसले कुनै प्रतिक्रिया जनाएको छैन ।


शनिबार रुसले युक्रेनमा पूर्ण आकारको हमला सुरु गरेको दुई वर्ष पुगेको छ । युक्रेनी हवाई बलका प्रमुख मिकोला ओलेस्चुकले आफ्ना सेवा र सैन्य गुप्तचरलाई विमान खसाल्न सहयोग गरेकामा धन्यवाद दिएका छन् ।

उक्त लामो दूरीको रेडार पत्ता लगाउने विमान शुक्रबार एक प्रमुख रुसी सैन्य बिदाका बेला पारेर खसालिएको थियो । अनलाइनमा शेयर गरिएका भिडियोमा आकाशमा विमानलाई प्रहार गरेर खसालिएको देखिनुका साथै दुर्घटनापछि बाक्लो मुस्लो र कालो धूवाँ फैलिएको देखिन्छ । यसअघि युक्रेनले १४ जनवरीमा एक ए–५० विमान खसालेको दाबी गरेको थियो ।

ती विमानले हवाई प्रतिरक्षा क्षेत्रहरू पत्ता लगाउँछन् र रुसी जेटहरूलाई आक्रमण गर्ने लक्ष्यहरू देखाउन समन्वय गर्छन् । त्यस्ता विमान निर्माणका लागि सयौँ करोड अमेरिकी डलर खर्च हुने बताइन्छ।