काठमाडौं महानगरभित्र ५२ अस्पतालका ३७५ शय्या निःशुल्क



काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ५२ अस्पताल लक्षित वर्गको निःशुल्क उपचार गर्न तयार भएका छन् । महानगरले निःशुल्क उपचारका लागि तयार पारेको प्रणालीमा ती अस्पताल आबद्ध भएका छन् ।

ती अस्पतालमा ३ हजार ७ सय ४४ शय्या छन् । महानगरका अनुसार यसको १० प्रतिशत अर्थात् ३ सय ७५ शय्या निःशुल्क उपचारका लागि उपलब्ध हुने भएको हो । अस्पताललाई अनलाइन प्रणालीमा विवरण अद्यावधिक गराउन महानगरले युजर नेम र पासवर्ड दिएको छ ।


आबद्ध अस्पतालमध्ये सबैभन्दा धेरै शैय्या हुनेमा काठमाडौं मेडिकल कलेज सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज स्वयम्भू छन् । यी दुई अस्पतालमा ३÷३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल पनि छन् । यस्ता अस्पताल संख्या सात छ ।

लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) को निःशुल्क उपचारका लागि महानगरले ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।

यसलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । कार्यविधिले तोकेबमोजिम १ फागुनदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पताललाई पत्राचार गरेको छ । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले वर्गले तीन विधिमध्ये कुनै एकबाट सेवाका लागि जान सक्ने बताएका छन् ।

विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहित कागजपत्र लिएर सेवा लिन सक्छन् ।

यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन् । प्रमाण प्रमाणित हुन सके एकाइले सिफारिस गर्ने छ ।

बेवारिसेका हकमा भने नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा निःशुल्क उपचार प्रदान गरिने महानगरले जनाएको छ ।