२४ करोड वर्ष पुरानो जीवाश्म फेला



बीबीसी । पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो नयाँ जीवाश्म फेला परेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार पाँच मिटर लामो सरीसृपको यो जीवाश्म लगभग सग्लो अवस्थामा फेला परेको छ । यो जीव ट्राइएसिक युगमा विचरण गर्थ्यो। गर्धन निकै लामो भएकाले यसलाई ‘ड्रयागन’उपनाम दिइएको छ ।

वैज्ञानिकहरूले यो जीव ‘डाइनसेफालसोरस ओरिएन्टलिस’ प्रजातिको भएको बताएका छन्। उक्त प्रजाति सन् २००३ मा पत्ता लागेको थियो । अहिले फेला परेको जीवाश्मले वैज्ञानिकहरूलाई अनौठो देखिने उक्त प्रागैतिहासिक जीवको पूर्ण शारीरिक संरचना कस्तो थियो भन्ने जान्न अवसर दिएको छ ।


उक्त जीवाश्मको अध्ययन गर्ने अन्तर्राष्ट्रिय टोलीमा सहभागी नेशनल म्यूजीअम्स स्कटल्यान्डका डा निक फ्रेजरका अनुसार वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो सग्लो अवशेष देख्न पाएका हुन् । उनले त्यो ‘धेरै अनौठो जीव’ भएको बताए । त्यसका ‘फ्लिपर’ जस्ता हातखुट्टा थिए र त्यसको गर्धन चाहिँ पुच्छरसहित शरीरको लम्बाइभन्दा लामो थियो ।

लामो र लचिलो गर्धनले उक्त जीवलाई पानीमुनि चट्टानका दरारमा सिकार गर्न सजिलो बनाएको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । उक्त जीवाश्म दक्षिणी चीनमा प्राचीन चुनढुङ्गा भएको ठाउँमा फेला परेको हो । यो जीवबारे वर्णन गरिएको एउट शोधपत्र ‘अर्थ एन्ड इन्भाइरन्मेन्टल साइअन्सः ट्रयान्ज्याक्शन्स अफ दि रोयल सोसाइटी अफ एडिन्बरा’ जर्नलमा भर्खरै प्रकाशित भएको छ।