काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा ४/५ दिनमै पेस हुने बताएका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले समितिबाट टुंगो लागेर विधेयक ४/५ दिनमै सदनमा प्रस्तुत हुने बताएका हुन् ।
उनले भने, ‘विधेयक सदनमा पारित हुने अन्तिम चरणमा छ । ४/५ दिनमै सदनमा पेश भएर पास हुन्छ।’ प्रधानमन्त्रीले विधेयक पास भएपछि सबै सहिदका परिवारले सरकारबाट पाउने सेवा सुविधा पाउने उल्लेख गरे ।
उनले शान्ति प्रक्रियाका केही कामहरू बाँकी रहेकाले सबै सहिद परिवारले परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए । उनले भने,’विधेयक पास भएपछि सहिद र बेपत्ता योद्धाहरूले गरेको बलिदानप्रति गर्व हुनेछ। रगत खेर गएको छैन। बरु त्यसको सम्मान भएको इतिहासमा। राज्यले पनि त्यसको सम्मान गरेको छ।’