प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे छलफल गर्दै एकीकृत समाजवादी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला नै दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भएको छ ।

गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल सुरु भएको हो । आइतबारको प्रतिनिधि सभा बैठकमा समेत प्रतिपक्षका सांसदहरूले मन्त्री ज्वालाको राजीनामा र कारबाहीको माग गरेपछि एकीकृत समाजवादी थप दबाबमा परेको छ ।


तर सो पार्टीले अहिले नै मन्त्री ज्वालाबारे केही निर्णय गरिनसकेको जनाएको छ । एकिकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले ज्वालाको विषयमा छलफल भएपनि पहिला आयोगको रिपोर्ट हेर्ने बताए ।

गत ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रवार प्रतिवेदन बुझाएको थियो ।