कांग्रेस कार्यसमिति बैठकः महासमितिमा प्रस्तुत गरिने प्रस्तावहरु पारित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ । हिजो (बिहीबार) देखि पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठक महासमिति बैठकमा पेश गरिने प्रस्तावहरु पारित गर्दै समापन भएको हो ।

बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदनमाथि छलफलपछि प्राप्त सुझावलाई समावेश गरी परिमार्जनसहित पारित गरिएको हो ।


साथै, महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने समेत निर्णय भएको छ । त्यसैगरी कांग्रेस संघीय संसद, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउनका सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा निर्वाचन समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही रहेका छन् ।