काठमाडौं । नेपाली कांग्रेसका २२ जना नेताले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनुपर्ने दावीसहित विशेष पूरक प्रस्ताव पेस गरेका हुन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा उक्त प्रस्ताव पेस भएको हो । प्रस्तावमा सनातन हिन्दूराष्ट्रको पक्षमा उभिने समय आएको दाबी गरिएको छ। उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
प्रस्ताव पेश गर्दै नेता भण्डारीले भने, ‘नेपाली कांग्रेसको आजको केन्द्रीय कार्य समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा समक्ष म सहित २२ जना केन्द्रीय सदस्य र प्रदेश सभापति ज्यूहरुबाट धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा उभिन विशेष पुरक प्रस्ताव पेश गरेका छौं । प्रस्ताव पेश गर्न प्रत्यक्ष सहयोग गर्नु हुने केन्द्रीय सदस्य र प्रदेश सभापतिहरु ज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा उभिन सम्पूर्ण पार्टीका महासमिति सदस्य ज्यूहरु, नेता तथा कार्यकर्ता साथीहरुमा आग्रह गर्दछु ।’
प्रस्तावमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का र नागिना यादव छन्। यस्तै केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलाले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।
यस्तै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा हस्ताक्षर गरेका छन् ।
कांग्रेस जस्तो व्यापक जन आधारमूलक प्रजातान्त्रिक पार्टीले धार्मिक खन्भूत्ता नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उनीहरुको प्रस्तावमा उल्लेख छ।