दुर्गा प्रसाईंसँग संवाद गर्न राप्रपाले बनायो वार्ता समिति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


प्रसाईंले बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै देशका विभिन्न क्षेत्रका मानिसलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने गरेका छन् ।

२० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उनको माग छ। प्रसाईंमाथि भने गत चैतदेखि बैंकको साँवा(ब्याज नतिरेको आरोप छ।

प्रसाईंले राजसंस्था फर्काउने भन्दै आन्दोलनसमेत गर्दै आएका छन् । उनले पटकपटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका थिए । महाअभियान सुरू गरेको एक वर्ष पुगेका दिन मंगलबार पनि पूर्वराजा शाहलाई प्रसाईंले कार्यक्रममा बोलाएका थिए तर पूर्वराजा शाह भने सहभागी भएनन् ।

राप्रपाले पनि राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश खारेजीका लागि फागुनदेखि आन्दोलन गर्ने गत पुस ३ मा बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरेको थियो। आन्दोलन सुरू गर्नुपूर्व अध्यक्ष लिङ्देनले प्रसाईं पक्षसँग संवाद गर्न वार्ता समिति बनाएका छन् ।