एमाले रौतहट अध्यक्षमा साह निर्वाचित



गरुडा । नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन् । साह १९३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकिटतम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मतमात्र ल्याउन सके ।

यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन्।  उपाध्यक्ष पदमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित भए । मनिलाल सहनीले ४४, चन्दन कुमार कुशवाहाले ३७, उपेन्द्र राई यादवले ३१, राम अशिष साह तेलीले १२ मत प्राप्त गरे ।


यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित भएका छन् । दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी शिवप्रसाद आचार्य १४७ मत ल्याए ।

यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन् । उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो ।  यादव १२९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडीले ७५ मत प्राप्त गरे। फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मतमात्र ल्याए ।

एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो ।  सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो। निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मतमात्र खसेको थियो ।